E-Magazine (December-2024)
- hamrotakchang
- Dec 21, 2024
- 10 min read
Updated: Dec 22, 2024

आमा म त जानु पर्ने भयो

सागरमणि ढकाल
(स्व. नर बहादुर भण्डारी प्रति समर्पित)
ल है आमा म त लागे अब,
यो चिताको आगो संगै
खरानी भएर
मैलै डुलेका ति खेत खलयान, बाटो घाटो
अझै डुल्ने तिर्सना हुँदा हुँदै
मेरा नातानातिना संग खेल्ने अझै रहर हुदाँ हुदै
तिम्रो निम्ति अझै क्यै गर्न सक्छु कि भन्ने भावना हुदाँ हुदै
म त जानु पर्ने भयो आमा।।
मेरो चिताको आगोको ताप संगै
मेरो कर्मको ताप त सेलाउदैन होला
मेरो शरिरको राख संगसंगै
मेरो छाप त उड्दैन होला
मेरा निम्ति झरेका आँशु हरु
आज भोली नै त शुकदैन होला
मेरा लागि रातिएका आँखाहरु
केहि दिन अझै त भिजछन होला।
आमा म त अनायसै जानु पर्ने भयो।
अंगालोमा सबैलाई बाँध्ने मन त थियो
मिठा केहि कुरा सकेभर गर्ने मन त थियो
माटो, भाषाको इतिहास सुनाउने मन त थियो
मेरा अनुभवहरु अझै कलमले कोर्ने मन त थियो
आमा तिमीलाई छोडी जानु पर्ने भो
प्रकृतिको नियमको पालना गर्नु पर्ने भो
छाती गह्रौं त भयो नि मेरी आमा तर
तिम्रो भण्डारीको युग यहि सम्पन्न हुने भो।।

मुक्तक

-मुन्ना दुलाल
बिजाउँछ तिम्रो खस्रो बोली
रसाउँछन् आँखा भिज्छन् परेली
अर्काको भावलाई बुझ्न नसकेर
रोही रहेछ यो पराइको डोली ।

अपराधीहरुलाई सजाय दिलाउने को छ र यहाँ
घुसखोरी र मनपोलीको दवाब छ जहिले यहाँ
पटक पटक मरेर बाँच्नु पर्छ नारीले किन समाजमहाँ
नाजुक बनाइ दिन्छ नियतीले जहिले पनि यहाँ

गजल

एच. एन. मिश्र 'धड़कन्''
रहर यो कैले गलेछ, थाहै भएन
केले लौ छल्नु छलेछ थाहै भएन ।।
साक्षात्कार नहुँदा कहिल्यै ऐनासंग
उमेर् यो कैले ढलेछ थाहै भएन ।।
अघिल्लै जुनीको कुनै राँटो रह्यो कि ?
दैवले फेरि भलेछ थाहै भएन ।
सुकेका खरुकी भएछन् मान्छे हेर
तथ्य सत्य भै बलेछ थाहै भएन ।
खै अचेल काँसा, चूरा बज्दैनन् त कतै ?
चाल यो प्लास्टिकले चलेछ थाहै भएन ।
कसको कालो नजर लाग्यो नी चिचिलैमा ?
बैंश औंसा भै फलेछ थाहै भएन ।।
एक् सिन्को माचिस् त थियो यो 'धड़्कन्' पनि
केही नसल्काई जलेछ थाहै भएन ।।
( रचनाकाल : २८\५\२०१९)

घर

–अर्जुन चामलिङ ’यावा’
बिहान घरकी आमा
पातलो रङचिया उमालीरहेकी होस्
पूजाकोठामा घण्टी बजेको सुनियोस्
धुपबाट फैलिएको वासनाले
कोठाहरू मगमगाइ रहेको होस्
घरका बाउले भजन गाइरहेको सुनियोस् ।
चियासँग बिस्किट खाँदैगर्दा
छोरीलाई सोधुन बाउले–
तिम्रो पढ़ाई कस्तो छ हँ हिजाज?
घरबाट हिँड्न अघि
छोरोलाई भनुन आमाले–
बेलुकी ढिला नगर्नु, बा रिसाउँछन् ।
साँझको खानापछि
सबैसँगै बसेर गफिउन् बेफिक्री बनेर
सुनाउन् सबैले
दिनभरिका कथा–व्यथा आफ्नो–आफ्नै
छुटोस् बरू खित्काहरू
सुनुन् परपरका छरछिमेकमा सबैले
आखिर
खित्काहरू छुट्नु
खित्काहरू सुनिनु भनेको–
घरको दैलो बजारिनु होइन
खिड्कीका ऐनाहरू फुट्नु होइन
चित्कारहरू छरिनु पनि त होइन
समग्रमा–
सम्बन्धहरू तोडÞिनु होइन ।
खित्काहरू छुट्नु भनेको
खित्काहरू सनिनु भनेको त
साँचो अर्थमा
एउटा घर, घरजस्तै हुनु पो हो त ।
४/७/२०२४

म
छविलाल अधिकारी
तारेथाङ्ग ,’ पाक्योङ्ग सिक्किम’
म आगो हुँ म पानी हुँ,
म समयको माग हुँ,
म दया हुँ, करूणा हुँ,
म मौन ह,ुँ म आवाज हुँ,
अचेतनहरूको दिमाग हुँ,
म फूल हुँ, म काँडा हुँ,
म परिस्थितिको पात्र हुँ,
म ठोक्कर हुँ म टक्कर हुँ,
हुन त म एक मात्र हुँ ।
म प्रकृतिको एक अङ्ग हुँ,
म जोश हुँ, जाँगर हुँ उमङ्ग हुँ,
म खुकुरीको धारमा उभिएको
एक निडर योद्धा हुँ ।
बाहिर मुस्कान फिँजाइरहने
म रङ्गमञ्चको पर्दा हुँ,
म आफैँमा एक विश्वास हुँ,
म आफ्नै साहशको आभास हुँ,
म मेरै लागी खास हुँ ।
म बग्दै गरेको एक निडर नदी हुँ,
म विनम्रताको एक अवधि हुँ,
म ज्ञानीहरूको सम्वाद हुँ,
म परोपकारीहरूको सादुवाद हुँ,
म रक्षकहरूको आड हुँ,
म एक उच्च पहाड़ हुँ ।

किन?
-मल्लिका काफ्ले
फूल फुल्नु अघि नै कयौंले कोपिला चुड़ीदिन्छन्,
भाले बास्नु अघि नै त्यसलाई मार गिराउँछन् ,
सूर्य उदय हुनु अघि नै मानिस यहाँ रक्सीले टन्न हुन्छन्,
कसैको प्रगति देख्दा मानिस यहाँ खुट्टा तान्ने मात्र हुन्छन्,
किन?
मर्नु अघिको त्यो घमण्ड शरीर सित्तै शेष हुन्छ
तर नी सबै यहाँ घमण्डी हुन्छन्,
जुन शरीर दुनियाँमा आउनु अघि आमाको गर्वमा हुन्छ,
त्यो शरीर दुनियाँमा आएर आमाको दुनियाँ बन्न सक्दैन,
जुन मुखले नारीलाई देवी भन्छन्,
त्यहि मुखले उसलाई लुसेर बलात्कार गर्छन्,
यही भूमिमा मन्दिर, मस्जिद, गुरुद्वारा र गिर्जाघर छ
तर पनि किन यहाँ नर्कजस्तो लाग्छ ?
यहाँ आफूले माया गरेको मानिसलाई
जात–पात, गोत्र, लिङ्ग, रंग, अनेक थरीको भेदभावले छुट्टाइ दिन्छन्,
आफूले रोजेको जीवन यात्रामा रेखा कोरि दिन्छन्
नचाहिँदा समाज यहाँ हल्लाखल्ला गरेर थाक्दैन,
तर साथ चाहिँदा एउटा हात अघि सर्दैन्
किन?

गजल
मुक्तीनाथ घिमिरे
ताक्छाङ
सधैं झैं आज पनि सुनौलो बिहानी आएको छ ।
भविष्यको आशा बोकेर नयाँ जवानी आएको छ।।
घमण्ड गर्दै थियो आकाशमा उड्छु भनेर ।
चारो टिप्नलाई आज मेरै आँगनी आएको छ ।।
आगो लगाउने पनि काम आउन सक्छ कहिले ।
दाउराबाट पनि मस्काउने खरानी आएको छ।।
मिठो बोल्नेहरु नै कुरा काट्दो रहेछन महोदय ।
हिजो मिठाई दिनेबाट आज खोर्सानी आएको छ ।।
सानु कुराले मेरो चित्तमा दाग लागाउने तिमी ।
आज मेरो सामु तिम्रो पुरै कहानी आएको छ ।।

रङ्गीन कलम
सुमिरन सपकोटा
रङ्गेली ,पाक्योङ्ग सिक्किम
मलाई लड्न दौडन मनपर्छ
जित्न अघि हार्न मनपर्छ
गलेकाले हो चौतारी खोज्ने
मलाई त रङ्गीन कलम भएपुग्छ ।।
पैँचो के मागँु पानाको
मलाई माटो भए पुग्छ,
आकाशमा फिजिएका बादलहरू छन्
प्रकृतिमा लुकेका सुन्दरताहरू छन्
खोला नालाको सन्दर्भहरू छन्,
मलाई त शीर्षक अनि रङ्गीन कलम भएपुग्छ।।
म इतिहास लेख्छु ।
मेरो पाइला पाइलामै कविताहरू छन् ,
भावनासँग मित लगाउँछु,
मेरो ओछ्यान्मा शब्द लह–लह छन्
कुन गीत सुन्नु अब जिन्दगीको तुलना गर्न,
मेरो बेदना कोर्न, मलाई त रङ्गीन कलम भएपुग्छ ।।
जुन्किरी अपनाउने आँखाहरू छन्
म अक्षरको वासना लिन्छु ।
मलाई सधैं अठ्याउने यादहरू छन्
कुन कोपिला फूल बन्छ नसोध मलाइर्,
कल्पनाको फूलहरूले मेरो आँखा बन्दछन्
म जराको सङ्घर्ष सोच्ने मान्छे,
मलाई त रङ्गीन कलम भएपुग्छ ।।
हावाका सुस्केरहरू छन्
पानीका बाछिटाहरू छन्
आँसुले आँखा के भिजाउँथ्यो अब,
मलाई भिजाउने त साहित्यहरु छन्
मलाई गुम्साउन के सक्थ्यो चौरास्ताहरूले
मेरो आवाज बोल्छ बस्
मलाई रङ्गीन कलम भएपुग्छ ।।

हाम्रो गाउँ पनि कम छैन
धरणी न्यौपाने
नयाँ दिल्ली ।
समयको गतिलाई हामीले सदुपयोग गर्न सक्छौं तर नियन्त्रण गर्न सकिँदैन । आ–आफ्नो कर्म क्षेत्र विभिन्न स्थानमा भए पनि बाल्यकालमा खेलेको ठाउँ नै सबैभन्दा प्यारो लाग्नु स्वाभाविक हो । व्यक्तिगत रुपमा उत्थान हुनु राम्रो कुरा हो तर जबसम्म सामाजिक उत्थान हुनु सक्दैन तबसम्म हामी समग्र विकसित भएको महशुस गर्न त्यतिको सक्षम हुन्छौं जस्तो लाग्दैन, सायद यो मेरो व्यक्तिगत सोचाइ हुनसक्छ । टेलिफोनिक सन्देशमार्फत भान्जा श्री बालकृष्ण दङ्गालज्यू र भाइ श्री रुद्र दुलालज्युले सामाजिक उत्थानका निम्ति साहित्यिक एवं सांस्कृतिक संरक्षण हेतु, ताकछाङ गाँउमा ’कला एवम् संस्कृति विकास परिषद’ को गठन गरेको सन्देश सुनाउनु भएको थियो । दशंैको भेटघाटमा आगामी ९ नवेम्बरको दिन आशु कवि स्वर्गीय लक्ष्मीप्रसाद देवकोटा स्मृति जयन्ती पालन गर्ने अनि सोही दिन ई म्यागेजिन लञ्च गर्ने शुभ खबर सुन्न पाउँदा साह्रै खुसी लागेको छ ।
समितिका अध्यक्ष श्रीमान् बी. के. दङ्गालज्यूले मेगजिनका निम्ति एउटा लेख तयारी पार्ने आदेश दिनुभएको थियो, तर कथा, कविताभन्दा नव गठित समितिलाई शुभकामना चढाउनु नै उचित सम्झेर दुइ शब्द लेख्ने जमर्को कसें । सबैभन्दा पहिला जसकोमा यो समाज जोड्ने सोच उत्पन्न भयो उहाँलाई धेरै धेरै बधाई छ अनि सबैजना सङ्गठित भएर संस्थागतरुपमा अगाडि सर्नुभयो हजुरहरुलाई मंगलमय शुभकामना व्यक्त गर्दछु । सबैको सकारात्मक सोचको परिकल्पनाले हाम्रो गाउँको गौरव बढेर जावोस् ।
हाम्रा अग्रज व्यक्तित्वहरुले सन १९८०–८५ तिर ताकछाङ गाउँमा क्लब नव जागरण संघ, जन कल्याण समिति नामक संघ संस्थाहरु खोलेर सामजिक उत्थान हेतु कार्य गरेको ज्वलन्त उदाहरणहरू छन् । हाम्रो गाउँमा प्रथमपल्ट आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती सन् १९९४ सालमा मनाइएको थियो । त्यस समयमा श्रदेय दाजु आइ. एल. दुलाल र म टी. टी. आई गान्तोकमा सँगै थियौं, गान्तोकमा भानुजयन्तीको माहोल चल्यो, हामी दुइ गृष्मकालीन विदामा घरतिर लाग्यौं र युवा भाइ–बहिनीहरुलाई एकत्रित गरेर श्रदेय दाजु सी. एल. दुलालको निवासमा एउटा सभा राखेर यसपालीको भानुजयन्ती आफ्नै गाउँमा धुमधामका साथमा मनाउने फैसला गरियो ।
उक्त कार्यक्रमका लागि धनराशी हामी तिन भाइले जिम्मा लियौं । सी. एल. दुलाल, आइ. एल. दुलाल र म स्वयम् त्यसताका प्रायः जसो रात्रिको कार्यक्रम हुन्थ्यो, दिउँसो रोपाइँ हुन्थ्यो, दर्शकको अभाव त्यसैले हामीले पनि रात्रिको कार्यक्रम धुमधामका साथमा भानुजयन्ती मनायौं । निकै वर्षसम्म यो प्रथा चलिरह्यो। सन् १९९७ को भानुजयन्तीको कार्यक्रम सकेपश्चात समसामयिक साहित्यिक सङ्कलनस्वरुप एउटा पत्रिकाको प्रकाशन गर्ने अठोट गरियो । लेख रचनाहरु सङ्कलन हुन् थाले, नव प्रतिभाहरु निकै जन्मिए । लेखहरूको काट छाँट गर्ने कार्य पनि भयो, अब पुस्तकका रुपमा कहिले आ–आफ्ना रचना पढ्न पाउने भनेर कौतुहलता सबैमा बढ्दै जानु स्वभाविकै हो । पत्रिकाको नाम पनि राखियो ’सागर’ ।
यसभन्दा अगाडी स–साना दुइवटा पुस्तकको आकार पाएका आकृतिहरु प्रकाशन गरेको हुँदा प्रकाशन को अभिभारा मैले पाएँ । हाम्रोमा पुस्तक प्रकाशित गर्ने जम्मै खर्च रु. ११५०÷ मात्रै भेला भएको थियो । उक्त धनराशी र पाण्डुलिपि झोलामा हालेर गान्तोकतर्फ लागें ।
दुइ–चार जग्गामा कम्पोजिङको कुरा गर्दा खर्च मात्रै ४०००÷लाग्ने भयो । त्यस समय भर्खर कम्प्युटर कम्पोजिङ शुरु हुँदै थियो, हाम्रो बजेटभन्दा साह्रै बेसि । हाम्रो अर्को सभा श्रद्धेय दाजु सी. एल. दुलालको घरमा फेरि बस्यो । समितिले रु. ५००÷ श्री गणेश दुलाल दाजुले मात्र बढ्न सक्ने कुरा भयो । भोलिपल्ट श्रद्धेय दाजु गणेश दुलालले रु ५००÷सघाउनु भयो,अब जम्मा २१५०÷धन राशी जम्मा भयो । यो सबै जिम्मा लिएर म सिलिगुडी दास प्रिन्टर्समा गएँ र कम्पोजिङ प्रिन्टिङको सबै कार्य जिम्मा लगाएर आएँ । अब निश्चित भयौं ताकछाङ गाउँको प्रथम समसामयिक संकलन अथवा साहित्यक पत्रिकाको जन्म हुने निश्चित भयो । सितम्बर महिनाको ०८ तारिक नेपाली साहित्य परिषद् भवनमा तत्कालीन सिक्किम विधानसभाका अध्यक्ष श्रीमान सी. बी. सुब्बाज्युको बाहुलीबाट एक समारोहमा सागर साहित्यिक पत्रिकाको बिमोचन कार्य सफल भयो। जम्मा १२०००÷ खर्चमा नव प्रतिभाहरूको कलमले मूर्त रुप पायो । प्रथमपल्ट आफ्नो रचना कुनै पत्रिकामा छापिएको देख्न पाउँदा कतिको खुशी महसुस हुन्छ त्यो कुरा उसैलाई मात्र थाहा हुन्छ जस्ले अनुभव गरेको छ ।
अफसोस, यसको दोस्रो अङ्क निस्किन सकेन कारण आर्थिक कमजोरीलाई नै मान्नु पर्दछ । ताकछाङ गाउँको अर्को उपज मान्नु पर्दछ तत्कालीन सिक्किम सरकारले क्षेत्री, बाहुन र प्रधान समुदायलाई राज्य स्तरीय मान्यता दिएको घोषणा गरेको दिन २२ सितम्बर २००४ मा तत्कालीन सिक्किमका मुख्य मन्त्रीज्यूको बाहुलीबाट प्रथमपल्ट गाउँबाट सम्पादित र प्रकाशित समाचार पत्रिका गाउँले आवाजको लोकार्पण गरियो । जुन पत्रिका आजसम्म प्रकाशित भइरहेको छ । छक्ष्च्ल्क्ष् ल्य(क्क्ष्प्ल्भ्ए द्दण्ण्ट(ज्ञडटद्दढ, वर्ष १९ चल्दै छ । यो पनि हाम्रो गाउँको गौरव हो । त्यसैताका २००३–२००४ तिर यस समचार पत्रिकाको प्रचार प्रसारका निम्ति गाउँमा वितरण कार्य गर्नु हुने अति प्रिय भाइहरु बलराम दुलाल र प्रितम दुलालको योगदान सराहनीय र प्रशंसनीय रहको छ । गाउँ घरमा पत्रिका पढ्ने बानी लगाउने प्रयास उहाँहरूले गर्नु भएको हो । यसैको फलस्वरूप महकुमा स्तरिय ९क्गद म्ष्खष्कष्यल ीभखभ०ि कविता पाठ, नृत्य प्रतियोगिता, तर्क प्रतियोगिता, हाजिरी जवाब प्रतियोगिता प्रथमपल्ट ताकछाङ प्राथमिक पाठशालाको प्राङ्गणमा २००४ मा दुइ दिने कार्यक्रम सितम्बर महिनाको ६–७ तारिक सम्पन्न भएको थियो। तत्कालीन दुइ–दुइजना माननीय विधायकहरु आएर कार्यक्रम सम्पन्न भएको ताकछाङ गाउँको एैतिहासिक दिन मान्नु पर्दछ । २००६ मा जुलाई महिनाको अन्तिम साता हुनुपर्छ तारेथाङ स्कूलमा फुटबल खेला हुँदै थियो, म त्यही स्कूलमा कार्यरत थिएँ, बेलुकी खेल समाप्त भएपछि घर जाने क्रममा अहिलेको जस्तो रोड थिएन् उकालो हिँड्दै जाँदा भाइ रुद्र दुलाल त्यस समय तादुङ कलेज पढ्दै हुनुहुन्थ्यो, उहाँले दाजु हामी पनि केहि प्रोग्राम गरौं होइन्,भोकल कम्पिटिसन गाउँले आवाजको माध्यमद्वारा भन्ने सुझाव राख्नु भयो ।
दाजु भाइ गफ गर्दै हाम्रो घरसम्म आइपुग्यौं र चिया पिएर छुट्टियौं । १५ अगस्तको कार्यक्रम सकिएपछि अलिक समय पनि पाइन्छ, भाइ पनि छुट्टीको दिन घर आउनु अनि हामी सबै बसेर सल्लाह गर्ने निर्णय भएर हामी छुट्टियौं ।
अगस्त महिनाको २२ तारिक हाम्रो घरमा गाउँका पढ़ा–लिखा भाइ–बहिनीबिच एउटा छलफल भयो कि हामी सामुहिक रुपमा २००४ मा ताकछाङ स्कूलमा जस्तै भव्य कार्यक्रम गर्ने अनि एउटा संस्था पनी गठन गरियो, ताकछाड गाउँको प्रथम समसामयिक संकलन एक अङ्क प्रकाशित भएर ठप्प भएको थियो त्यसकै नाममा सागर प्रकाशन प्रतिभा संरक्षण समितिको गठन गरियो । आफ्नो जिम्मेवारी सबैले ग्रहण गर्नु भयो, मैले प्रमुख संरक्षकको जिम्मा पाएँ । सबै सक्रिय रहेर संस्था पञ्जीकृत गरेर कानुनी प्रक्रिया पुरा गरेर मात्र काम थालनी गर्ने निर्णय भएर २००७ को मार्च महिनादेखि प्रथमपल्ट रिनाक बी. ए.सी., रिगु बी. ए.सी. र पाकिम बी. ए.सी.बाट निम्न क्षेत्रमा प्रतिभा को खोजी गर्न हामी सबैले कम्मर कस्यौं ।
गायन– छ वर्ष माथिका र छ वर्ष मुनिका
नृत्य – छ वर्ष माथिका र छ वर्ष मुनिका
पेन्टिङ –खुल्ला प्रतियोगिता
हाजिरी जवाब प्रतियोगिता – निम्न माध्यमिक र उच्च माध्यामिक दुइ स्तरमा । उत्कृष्ट प्रतियोगिहरुलाई पारितोशिक र समाजका अग्रज व्यक्तित्वहरुलाई सम्मानार्थ समितिले प्रत्येक बर्ष सितम्बर ७ तारिखलाई ’प्रतिभा एवं श्रष्टा सम्मान सम्मिलन’ भनेर मनाउने फैसला गरियो । २००७ देखि २०१२ सम्म विभिन्न प्रतियोगितामा प्रथम, दोस्रो र तृतीय हुनेलाई नगद राशी साथमा विद्यार्थीलाई तिन वर्षको छात्रवृत्ति (क्अजयबिचकजष्उ) ले सम्मानित गरियो ।
विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरू जस्तै पूर्व पञ्चायत, अवकाशप्राप्त शिक्षक, आधुनिक तकनीकिले खेती गर्ने कृषक, समाजसेवी, साहित्यकार, कलाकार, पत्रकार, जेष्ठ नागरिक सिक्किमका विभिन्न जिल्लाबाट ल्याएर सागर प्रकाशन प्रतिभा संरक्षण समिति ताकछाङको ब्यानरमा अङ्ग वस्त्र, स्मृति चिन्ह, अभिनन्दन पत्र, यथाशक्ति धन राशीले सम्मानित गर्ने सौभाग्य प्राप्त भएको थियो । पाकिमको सामदाुयिक भवनदेखि शुरु भएर राजधानी गान्तोकका विभिन्न भवनहरूमा ताकछाङ गाउँको ब्यानरमा कार्यक्रम सम्पन्न भएको थियो। त्यसपछि पारिवारिक उतार–चढाव, व्यक्तिगत अभावले गर्दा यी सबै कार्यहरू ठप्प भए । सामुहिक कार्यहरू नभए पनि साहित्यि सर्जकको कमी हाम्रो गाउँमा रहेन ।
सायदै सिक्किममा छन्दोबद्ध कविताको रचना गर्ने कवि हाम्रै गाँउमा मात्रै हुनुहुन्छ भवानी घिमिरे । उहाँले आफ्नो साहित्यिक नाम भवानी घिमिरे ‘सिक्किम’े को माध्यमले चिनारी राख्नु भएको छ । उहाँको दुइवटा कृति मैले पनि पढ्ने सौभाग्य प्राप्त गरेको छु, सायदै उहाँको तेस्रो, चौथो कृतिहरू पनि प्रकाशोन्मुख छन् । छन्दोबद्ध कविताको रचना गर्नु भनेको सानोतिनो काम होइन, यस्ता सर्जक हाम्रो गाउँमा हुनु भनेको गाउँको गौरव हो ।
टेक्नोलोजीको विकास सँगसँगै समयानुकूल प्रचार–प्रसारजस्तो विषयलाई मध्य नजर राख्दै आएका अर्को व्यक्तित्व हाम्रै गाँउमा हुनुहुन्छ प्रितम दुलाल । १० जुलाई २०१९ देखि प्रतिबिम्ब अनलाइन न्यूजको माध्यमले आफ्नो चिनारी अघाडी बढाउने प्रितम भाइको योगदान सराहनीय रहेको छ । आजको दुनियाँमा सङ्घर्षशील रहेर ८० हजार फलोवर्स आफ्नो च्यानलको पुग्नु भनेको भाइले सफलता हासिल गरेको महसुश गर्दछु । यसका साथसाथै गजÞलको क्षेत्रमा भाइको योगदान सकरात्मक रहेको छ । नव प्रतिभाहरूको कलम चलाउने क्रममा सुश्री पुजा क्षेत्री उदयमान् प्रतिभा हुन । पुजा छोरीलाई उज्ज्वल भविष्यको शुभकामना छ । उनको शब्द, शैली र ढाँचाको प्रयोग उत्कृष्ट छ । कलम निरन्तर हाम्रो गौरवमय गाउँमा नयाँ जोस् जाँगर लिएर आएको नव गठित समितिलाई व्यक्तिगतरुपमा बधाई र प्रगतिका निम्ति मङ्गलमय शुभकामना चढाउँदछु ।

लघुकथा “खुशीको रजस्वला “
लेखकः प्रह्लाद दवाडी,
लिङ्गमो पेप्थाङ,
दक्षिण सिक्किम।
भान्सा घरको भण्डार कोठामा खुशी डरले रोइरहेकी थिई। आमा अचानकभित्र पसिन् ।
“किन भण्डारमा बसेर रोएकी? छोरी के भयो?
“आमा पेट दुख्यो“
“खोई हेरुँ त। ला, तँलाई त रजस्वला भएछ । रगत लागी रहेछ । अब भण्डार पनि बिटुलो भयो । तैँले बाउ आमा, माइतीलाई मुख देखाउनु हुँदैन । छुनु हुँदैन । पानी बार्नु पर्छ । जा गाईको खोल्मामा गएर बस् । म खाना, लुगाफाटा उतै पठाइ दिन्छु ।
“अबुई, डर लाग्छ नी। मेरो माया लाग्दैन? कस्तो निस्ठुरी ?
“चुप लागेर जा, अहिले छिमेकी र समाजले कुरा काट्छन्। बाबु त पण्डित मान्छे, यजमान रिसाउँछन् , समाजले काड्छन् नी ।
आमा खाना लिएर गाई गोठमा छोरी खोज्दै गइन् । कतै न भेट्दा डराउँदै पतिदेवलाई डाकिन् । श्रीमान् न बोली तारमा कपडा सुकाउँदै गरेको देखिन् । कहिल्यै आफ्नो लुगा न धुने मान्छेले आज लुगा धोएको उनलाई आश्चर्य लाग्यो । उनले सोधिन् “हन किन रिसानी भयो पतिदेव ?
“तिमीले छोरीलाई गाईको गोठमा पठाए छौ अनि।
“रजस्वला भैछे अन्त ।“
“के अपराध गरी त?“ बुढ़ाले झोँक्किएर कराए ।
“गाई गोठमा छोरी छैन त, कहाँ पठाउनु भयो?“
“मैले उसलाई उसकै कोठामा पठाइ दिएँ ।“
“समाजले के भन्ला? नाक काट्ला नी?“
“हेर्छु, कसले कसरी काड्छन् ?“
“अनि यो लुगा किन धुनु भएको? “
“यस्तो बेलामा सफा कपडा र लुगा लगाउन दिनु पर्छ। राम्रो खान दिनु पर्छ। बजारको प्याडले स्वास्थसँगै पर्यावरण पनि बिगार्छ।“
“अनि किन कहिल्यै आफ्नो लुगा नधुनेले आज छोरीको लुगा कपडा धुनु भएको? केटा मान्छेले, त्यो पनि यो बेलाको कपडा ! घिन लागेन?“
“यो त खुशीको रजस्वला हो नी । हाम्री छोरी पनि प्राकृतिक र वैज्ञानिक रूपले एक सक्षम नारी हुने सङ्केत हो । किन घिनाउनु? सुरक्षाको लागि हातमा ग्लोभ्स् लगाएर धोई दिएँ। लु जा, अब भनी रहोस्, मलाई फरक पर्दैन कसले के भन्छ?“।
समाजको छीः छीः दुरदुर कुरीति हटाउन श्रीमतीले पनि श्रीमान्लाई टाउको हल्लाएर समर्थन गरी रहेकी थिइन् ।
रचनाकाल – 19-10-2024
Comments